जेलरको सरुवापछि बाँके कारागारका कैदीबन्दीले स्थगित गरे आन्दोलन
काठमाडौं। कारागारका जेलरको सरुवा र नाइकेलाई हटाउनुपर्ने माग राखेर बाँकेको नेपालगन्ज कारागारका कैदीबन्दीले थालेको आन्दोलन स्थगित भएको छ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानवअधिकारकर्मीलगायतको उपस्थितिमा भएको वार्तामा कैदीबन्दीले राखेका माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो।

आज नै कारागारका जेलर भरतराज पाण्डेको जिल्ला प्रशासन कार्यालयमा काज सरुवा गरिएको छ। कैदीबन्दीका नाइके भरत फडेरालाई अन्यत्र कारागार पठाइने भएको छ।

कैदीबन्दीले राखेका माग सम्बोधन भएपछि उनीहरूले आजैदेखि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेको कारागारका कर्मचारी बखतकुमार थापाले जानकारी दिए।

आज भएको वार्तामा नाइकेले कैदीबन्दीको रासन र दैनिक उपभोग्य वस्तुको खरिदमा अनियमितता गरेको सम्बन्धमा समेत छानबिन गर्ने सहमति भएको छ।

सहमतिपछि कैदीबन्दीले भित्रबाट लगाएको ताला पनि खोलेका छन्।

हिजो बिहानैदेखि कैदीबन्दीले आन्दोलन गरेका थिए। उनीहरूले बिहान केही घण्टा कारागारभित्रै नाराबाजी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्