जुवाको खालबाट पक्राउ परेका मेजरमाथि सेनाले थाल्यो अनुसन्धान

काठमाडौं । गएराति सामाखुसीबाट जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई सैनिक हिरासतमा रााखिएको छ ।

उनीमाथि अनुसन्धान शुरू गरेको नेपाली सेनाले जनाएको छ ।

“प्रहरीले हामीलाई राति १ बजे जिम्मा लगाएको हो,” सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने, “हामीले अनुशासन उल्लंघन गरेको विषयमा अनुसन्धान शुरू गरेका छौं ।”

उनलेले शाहीमाथि सैनिक ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

प्रवक्ता पाण्डेले हिरासतमा लिइएका मेजर शाही प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेको पुष्टि गरे । प्रहरीले गएराति शाहीलगायत ८ जनालाई १ लाख ५९ हजार रूपैयाँसहित पक्राउ गरेको थियो।

सामाखुसीस्थित सोमबहादुर मगरको घरमा जुवा खेलिरहेको अवस्थामा सैनिक मेजर शाही, घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका निरज राणालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले देखापढीलाई बताए।

पक्राउ परेका अन्यलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको बताउँदै उनले भने, “आज बिदा भएकोले भोलि मात्रै अदालतमा म्याद थपेर अनुसन्धान गर्छौं।”

प्रतिक्रिया दिनुहोस्