२२ लाखले अवलाेकन गरे पर्वतीय संग्रहालय
पाेखरा। पोखरामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।

एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा–१७, रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ।

नेपाल पर्वतारोहण संघद्वारा खरीद गरेको १०० रोपनी जग्गामा निर्माण गरी एक दशकअघिदेखि सञ्चालनमा आएको संग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए।

उनका अनुसार संग्रहालय खुला गरिए यता हालसम्म विद्यार्थी ९ लाख ३४ हजार ६६७, सर्वसाधारण नेपाली सात लाख २० हजार २३६, सार्कस्तरीय पर्यटक एक लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका दुई लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन्।

वर्षमा ३६५ दिनै खुला रहने संग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको बताउँदै निर्देशक गाैतमले बगैँचा र निःशुल्करूपमा अवलोकन गर्नेको संख्यासमेत उल्लेखनीय रहेको बताए।

संग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ उचाइसम्मका ४०, ६ हजारदेखि ६ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ।

साढे ६ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनभित्र विभिन्न चारवटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमाल र तिनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ।

यसमा आठ हजार भन्दाबढी उचाइका आठवटा हिमचुचुरा नेपालमा पर्दछन्।

विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्त्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा संग्रह गरिएको छ।

सो कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्त्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिए।

संग्रहालयमा विभिन्न उपकरण सङ्कलनसहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको बताउँदै उनले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ।

बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने संग्रहालयमा यतिखेर विद्यार्थी ५० रूपैयाँ, नेपाली १००, सार्कस्तरीय २५० र बाह्य पर्यटकका लागि ५०० र बगैँचामा घुमफिरका लागि ३० रूपैयाँ टिकट दर कायम गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्