हलिउड स्टार बेनेडिक्टः जो महिला कलाकारले समान ज्याला नपाउने फिल्म खेल्दैनन्

काठमाडाैं। हलिउड, बलिउड होस् या कलिउड।

चलचित्र निर्माण गर्ने शैलीका हिसाबले यी एकापसमा भिन्न छन्। तर, पारिश्रमिकको पाटोबाट हेर्ने हो भने यिनमा एउटा समानता छ, त्यो हो पुरुष कलाकारलाई बढी र महिला कलाकारलाई कम पारिश्रमिक।

महिला कलाकारहरूले बेलाबेलामा यस विषयलाई उठाएर बोल्ने गर्छन् तर, बुझेर पनि प्रायः पुरुष कलाकारहरू यस विषयमा बोल्न चाहँदैनन्।

तर, हलिउड अभिनेता बेनेडिक्ट कम्बरब्याच भने यो मामिलामा अलिक फरक छन्।

यदि सँगै काम गर्ने महिला को–स्टारलाई आफूजति पारिश्रमिक दिइएको छैन भने उनी त्यो रोल गर्दैनन्।

बेनेडिक्टका अनुसार ‘बराबरी तलब दिइनु भनेको नारीवादको केन्द्रीय सिद्धान्त’ हो। “यो लागू हुनुपर्छ,” उनले भनेका छन्, “तपाईंले आफूसँगै काम गर्ने महिला साथीलाई तलबबारे सोध्नुस्। यदि समानरूपमा तलब दिइएको छैन भने यो फिल्म म गर्दिनँ भन्नुहोस्।”

विश्वको आधा जनसंख्या महिला छन्। त्यस्तै फिल्मको आधा दर्शक पनि महिला हुन्।

तर, चलचित्रमा काम गरेकाले वा धेरैमा परिचित अनुहार भएका कारण लगानीकर्ताहरू पनि पुरुष कलाकारहरू मात्रै महत्त्वपूर्ण छन् भन्ने सोच्ने गर्छन्। अनि महिलाहरूलाई पछाडि छोडिदिन्छन्।

तर, क्षमता र प्रतिभाअनुसार नै यो क्षेत्रलाई हरेकका लागि सुविधाजनक बनाइदिनुपर्नेमा बेनेडिक्ट अडिग छन्।

उनी भन्छन्, “हामी यो चाहन्छौँ, यदि यतिले क्रिस पाइनलाई पुग्छ भने त्यसले बेनेडिक्ट कम्बरब्याचलाई पनि पुग्छ।”

बेनेडिक्टले चलचित्र, टिभी, थिएटर र रेडियोमा काम गरेका छन्। उनले ‘शेरलक’, ‘द इमिटेसन गेम’लगायत थुप्रै हिट चलचित्र दिएका छन्।

प्रतिक्रिया दिनुहोस्