सरकार नै तिर्दैन गुठीलाई बहाल रकम

काठमाडौं। सरकारले गुठी संस्थानको जग्गा भोगचलन गरेबापत‍‍्को बहाल रकम तिरेको छैन।

५६ औं वार्षिकोत्सवका अवसरमा गुठी संस्थानले सार्वजनिक गरेको प्रतिवेदनमा सरकार र अन्य संघसंस्थाहरूसँग अर्बौं रकम असुली गर्न बाँकी रहेको उल्लेख छ।

प्रतिवेदनअनुसार सरकारले आफ्नो कार्यालय र अन्य संघ, संस्थाका लागि जनकपुरमा मात्रै गुठीको १७० बिघाभन्दा बढी उपयोग गरेको छ।

संस्थानका प्रशासक नारायण चौधरीले १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकी रहेको बताए।

उनले सो रकम असुलीका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको पनि जानकारी दिए।

सरकारसँग अर्बाैं रकम असुली हुन नसक्दा गुठी संस्थान सञ्चालनमा समेत खर्च अभाव हुने अवस्था आएको प्रतिवेदनमा जनाइएको छ।

जग्गाको तथ्यांक चुस्तदुरुस्त राख्न मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सबै जग्गाको तथ्यांक चुस्तदुरुस्त राख्न गुठी संस्थानलाई निर्देशन दिएकी छन्।

उनले जनताको सबैभन्दा ठूलो सम्पत्तिको रूपमा रहेको जग्गाको रेकर्डसमेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको चर्को आलोचना पनि गरिन्।

मन्त्री अर्यालले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि संस्थान नेतृत्वलाई सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस्