'सेताे जर्सीमा रातो बल खेल्न उत्साहित छाैं'

काठमाडौं। ज्ञानेन्द्र मल्लले नेपालकाे सिनियर टीममा पूर्णकालीन कप्तानको रूपमा डेब्यू गर्दा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई आज ५ विकेटले पराजित गर्‍यो।

विनोद भण्डारीको अर्धशतक अनी र पवन सर्राफले अलराउण्ड प्रदर्शन गरेपछि नेपालले २०२ रनको लक्ष्य ३३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो।

भण्डारी र सर्राफले छैठाैं विकेटका लागि नटआउट ७० रनको साझेदारी गर्दै जित दिलाएका हुन्।

छैठाैं नम्बरमा ब्याटिङ गरेका भण्डारीले ६४ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए।

यस्तै पवनले २५ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा नटआउट ३८ रन जोडे।

यस्तै शरद भेषावकरले २४ रन बनाए भने आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान २३ रन जोडे।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि कप्तानको रूपमा ज्ञानेन्द्र र नेपालकै यो पहिलो खेल थियो।

खेल जितेपछि ज्ञानेन्द्रले अझै सुधार गर्नुपर्ने पक्ष रहेको बताए। “धेरै कुराहरू हामीले सुधार्न जरुरी छ, विशेष गरेर फिल्डिङलाई लिएर हामीले सुधार्नु पर्नेछ,” ज्ञानेन्द्र भन्छन्, “अहिलेको ‘कन्सर्न पार्ट’ चाहिं फिल्डिङ नै हो। यसमा हामीले धेरै मेहनत गर्नु पर्नेछ।”

ज्ञानेन्द्रले नेपालको लागि 'म्याच विनिङ पर्फर्मेन्स' गरेका विनोद र पवनको प्रशंसा गरे। भन्छन्, “विनोद र पवनले जसरी खेललाई अगाडि बढाए त्यो एकदमै राम्रो हो, विनोद पछिल्लो समय खेलमा फिनिसरका रूपमा रहँदै आएका छन्। त्यस्तै पवन पनि क्षमता भएका खेलाडी हुन्।”

सर्राफले विनोदसँग मिलेर म्याच फिनस गर्नुअघि बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। पवन र ललित राजवंशीको ४-४ विकेटपछि एमसीसी ३९.५ ओभरमा २०१ रनमै अलआउट भएको थियो।

विपक्षीलाई अलआउट गर्न पनि पवनले राम्रो प्रदर्शन गरेको ज्ञानेन्द्रले बताए।

कप्तानको रूपमा डेब्यू गर्दै इशान पाण्डेसँग ओपनिङ गरेका ज्ञानेन्द्रको व्यक्तिगत प्रदर्शन भने राम्रो हुन सकेन। उनी १० रन मात्र बनाएर आउट भए।

यस्तै नेपालको जितमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका पवन सर्राफले खेल जिताउन पाउँदा खुशी लागेको बताए।

“पहिलेदेखि नै नेपाली टीममा दाइहरूले फिनिसरको रूपमा म्याच विनर खोजिरहनु भएको थियो, आज प्रमाणित गरेँ,” उनी भन्छन्।

नेपालले १३५ रन बनाउदा पाँचौं विकेट गुमाएपछि पवन क्रिजमा पुगेका थिए।

त्यसपछि उनले विनोदसँग अर्धशतकीय साझेदारी गर्दै जित दिलाउन भूमिका खेले। लक्ष्य ठूलो नभएकाले पनि खेल्न सहज भएको उनले बताए।

सेताे जर्सी लगाएर रातो बल खेल्न उत्साहित

नेपालले अब एमसीसीसँग तीनदिवसीय खेल खेल्दैछ।

फर्स्ट क्लास मान्यता पाएको उक्त खेल टीयू मैदानमा आगामी २० कात्तिकदेखि शुरु हुनेछ।

जुन खेलका लागि कप्तान ज्ञानेन्द्रसँगै टीममा रहेका नयाँ पुराना सबै खेलाडी उत्साहित छन्।

यो फर्म्याटको खेल खेल्न पाउनु सबैका लागि राम्रो रहेको ज्ञानेन्द्रले बताए।

“हामी जहिले पनि नेपाली क्रिकेट अगाडि बढाउने कुरा गर्छौं, डेज क्रिकेटको कुरा गर्छौं। हामीले १० वर्ष भइसक्यो नखेलेको, यो एकदमै आवश्यक हुन्छ,” ज्ञानेन्द्र भन्छन्, “सेतो जर्सीमा रातो बल खेल्न पाउँदा सबै एक्साइटेडनै छन्।”

नेपालले तीन दिवसीय खेल नखेलेको धेरै समय भइसकेको छ।

अहिले टीममा रहेका केही सिनियर खेलाडीबाहेक धेरै खेलाडीसँग यस फर्म्याटको अनुभव छैन।

त्यसैले पनि यो खेल केही फरक हुने ज्ञानेन्द्र बताउँछन्। “हामीले थ्रीडे म्याच खेलेको छैनाैं, लामो समय नखेलेको हुँदा केही हदसम्म त गाह्रो भइहाल्छ,” उनी भन्छन्, “खेलाडीको मनोवैज्ञानिकरूपमा चुनौती छ, त्यो चुनौती स्वीकार्दै अगाडि बढेर थ्रीडे खेल्छौं।”

प्रतिक्रिया दिनुहोस्