इमर्जिङ टीम्स कप टोली घोषणा, कुशल पहिलो पटक टीममा

काठमाडौ। बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ टीम्स एशिया कप २०१९ का लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टीमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा कुशल भूर्तेल पहिलो पटक सिनियर टीममा परेका छन्।

यस्तै इशान पाण्डे र अभिनाश बोहरा पनि टीममा छन्।

यी दुई खेलाडीले यसअघि टी-२० खेले पनि नेपालका लागि ५० ओभरको खेल खेलेका छैनन्।

इमर्जिङ कप खेल्ने टोलीका अन्य खेलाडीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, आरिफ शेख छन्।

निवर्तमान कप्तान पारस खड्का र युवा लेगस्पीनर सन्दीप लामिछाने युएईमा टी-१० लिग खेल्न जाने भएकाले इमर्जिङ टीम्स कप गुमाउने भएका छन्।

दुवै खेलाडीले क्यानबाट टी-१० लिगका लागि नो अब्जेक्सन लेटर (एनओसी) प्राप्त गरिसकेका छन्।

यस्तै इमर्जिङ टीमका लागि नेपालबाट ५ अफिसियल जाने भएका छन्, जसमा क्यानका सदस्य प्रशान्त मल्ल टीम म्यानेजरका रूपमा छन्।

यस्तै मुख्य प्रशिक्षकमा उमेश पटवाल, सहायक प्रशिक्षकमा दीपेन्द्रप्रताप सिंह छन्।

यसैगरी भिडियो एनालिष्टमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन्।

इमर्जिङ कप १२ देखि २४ नोभेम्बरमा बंगलादेशमा हुनेछ।

नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ।

नेपाल र भारतसँगै आयोजक बंगलादेश र हङकङ समूह 'बी' मा छन्।

यस्तै पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान समूह 'ए' मा छन्।

प्रतिक्रिया दिनुहोस्