बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

सुर्खेत। प्रहरीले बालविवाह न्यूनीकरण गर्न कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ।

प्रदेश प्रहरी कार्यालयको निर्देशनमा २० कात्तिकमा ती जिल्लाहरुमा विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराउँदा बालविवाह न्यूनीकरणमा मद्दत पुग्ने बताए।

“विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो”, उनले भने, “अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन।”

कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ। मुलुकी फौजदारी संहितामा बालविवाह गर्ने/गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ।

प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।

प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिए।

प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी थिए। रासस

प्रतिक्रिया दिनुहोस्