रंगशाला तयार नभएपछि विश्वकप छनोटको खेल नेपालबाट खोसियो

काठमाडाैं। एशियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक पूर्वाधारमा प्रश्न उठाउँदै यहाँ हुने तय भएको विश्वकप छनोटको कुवेतविरुद्धको खेल नेपालमा नखेलिने निर्णय गरेको छ।

नेपालले कुवेतविरुद्ध आउँदो ३ मंसीरमा दशरथ रंगशालामा खेल्ने कार्यक्रम थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज विज्ञप्ति जारी गरेर कुवेतविरुद्धको खेल दशरथ रंगशालामा नहुने स्पष्ट गरेको हो।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट र २०२३ मा चीनमा हुने एएफसी एशियन कप फुटबल प्रतियोगिताको छनोट अन्तर्गत् नेपालको घरेलु मैदानमा हुने तय भएको यो खेल अब ‘न्यूट्रल भेन्यू’का रूपमा अब भूटानमा हुनेछ ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङ्गले १९ कात्तिकमा दशरथ रंगशालाको निरीक्षण गरेका थिए ।

“निरीक्षणपश्चात प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला तयार हुन नसकेकोले एएफसीको निर्देशनअनुसार उक्त खेल नेपालमा हुन नसक्ने व्यहोरा जानकारी गराउँदछु”, एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

“सबै प्रकारको अधिकतम प्रयत्नका बाबजुद भूकम्पबाट पूर्ण क्षतिग्रस्त नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा समयमा नै पुनर्निर्माण हुन र गराउन नसक्दा उक्त प्रतिष्ठित खेल नेपालमा हुन र गराउन नसकेकोमा क्षमायाचना गर्दछौं”, एन्फाका प्रवक्ता किरण राइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्