‘आलम गम्भीर मानवताविरूद्धको अपराधमा संलग्‍न’
रौतहट। १२ वर्षअघि रौतहटको राजपुरमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको अभियोग लागेका कांग्रेस सांसद मोहम्मद आफताब आलमविरूद्धको मुद्दामा आज सरकारी वकील र पीडितका तर्फका वकीलले बहस गरेका छन्।

थुनछेक बहसमा जाहेरीकर्ताका वकीलहरूले १२ वर्षअघिको उक्त घटना मानवताविरूद्धको अपराध भएको बताए।

“शक्तिको आडमा राज्य संयन्त्रले नै यो घटना दबाउन खोजेको देखिन्छ,” पूर्व महान्यायाधिवक्ता डा.युवराज सङ्ग्रौलाले भने, “तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउनुपर्छ।”

वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्यले तत्कालीन समयमा पीडकलाई जोगाउन राज्य संयन्त्रका प्रमुख व्यक्तिहरू संलग्न रहेको भन्दै उनीहरू सबै अनुसन्धानको दायरामा आउनुपर्ने बताए ।
“घटनापछि यहाँका राजनीतिक दलहरू र अन्य संस्थाका संयुक्त विज्ञप्ति र अनुगमन प्रतिवेदन आएका छन्,” अधिवक्ता गोविन्द शर्मा बन्दीले भने, “यी सबै तथ्य र प्रमाणले बम विष्फोट भएको स्थापित गरिसकेको छ।”

युद्धका समयमा भन्दा पनि क्रुरतापूर्ण तरिकाले मान्छे मारिएको भन्दै उनले यसलाई मानवताविरूद्धको अपराधको रूपमा चित्रण गरे।

“न्याय माग्दै हिंडेकी रुक्साना खातुनको हत्या हुनु पनि यसैको अर्को कारण हो,” उनले भने, “यी सबै प्रमाण, साक्षीको बयान र तत्कालीन अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीको बयानसमेतले घटना भएको प्रष्ट हुन्छ।”

उनले अभियुक्तलाई धरौट वा तारेखमा छोड्दा थप प्रमाण मेटाउन सक्ने र पीडित तथा साक्षीलाई समेत अप्ठ्यारो पार्न सक्ने भन्दै थुनामा राखेरै मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

अधिवक्ता ओमप्रकाश अर्यालले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत सुरक्षा निकायका प्रमुखहरूमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरे ।

“राजनीतिको आडमा भएको मानवताविरूद्धको यो अपराधमा संलग्न र सहयोग गर्ने सबै अनुसन्धानको घेरामा आउनुपर्छ,” उनले भने।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समेत अदालतमा थुनछेक बहस चलिरहेकै बेला पीडित र साक्षीलाई प्रलोभनमा पार्ने तथा डरत्रास देखाउने काम भइरहेको बताए। उनले अहिले नै यस्ता गतिविधि गर्न सक्ने अभियुक्तलाई छाड्दा झन् समस्या निम्त्याउने भन्दै थुनामै राख्न माग गरे।

अधिवक्ता पुष्पराज पौडेलले विगतमा राज्य नै घटना दबाउन लागेको बताउँदै शुरूदेखि अहिलेसम्मको सम्पूर्ण प्रक्रियाबारे इजलासलाई जानकारी गराएका थिए।

आज पर्सा जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी, अधिवक्ताद्वय आशिकराम कार्की र सुमन श्रेष्ठले समेत बहस गरेका थिए।

२४ कात्तिकमा प्रतिवादीका वकीलहरूले बहस गर्नेछन्। बहस सकिएपछि अदालतले थुनछेक आदेश गर्नेछ। आलमलाई साधारण तारेख वा धरौटीमा रिहा अथवा पुर्पक्षका लागि थुनामा राख्नेमध्ये कुनै एक आदेश दिनेछ।

१८ कात्तिकमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएपछि तीन दिनसम्म बयान गराएर २१ कात्तिकदेखि थुनछेक बहस थालिएको थियो। आलममाथि रौतहटको इँटाभट्टामा कार्यरत मजदुरलाई १२ वर्षअघि जलाएर मारेको आरोप लागेको छ।

पहिलो संविधान सभा निर्वाचनको एक दिन अघि २७ चैत २०६४ को बेलुकी साढे ६ बजे राजपुर फरहदवामा आलमका काका शेख इद्रिसको घरमा बम बनाउँदै गर्दा पड्किएर पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्ति घाइते भएका थिए ।

घटना सार्वजनिक हुने डरले घाइतेहरूलाई आलमसमेतले सुरक्षा बलको सहयोग लिएर गाउँकै एक व्यक्तिको इँटाभट्टाको चिम्नीमा जलाएर शव गायब पारेको आरोप उनीमाथि छ।

२६ असोज २०७६ मा रौतहट जिल्ला प्रहरी कार्यालयले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणसम्बन्धी मुद्दा दायर भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्