निर्माण सामग्रीको परीक्षण गर्न प्रयोगशाला बनाइने

काठमाडाैं। राष्ट्रिय सतर्कता केन्द्रले एक महीनापछि निर्माण सामग्रीको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने भएको छ।

विभिन्न आयोजनामा प्रयोग हुने सिमेन्ट, बालुवा, गिट्टी र छडको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न लागिएको केन्द्रका सचिव डा. ऋषिराम शर्माले जानकारी दिए।

अन्य निर्माण सामग्री एक महीनापछि नै परीक्षण गर्न सकिने भए पनि छडको परीक्षणका लागि तीन महिना कुर्नुपर्नेछ।

परीक्षणको क्रममा निर्माण सामग्रीको गुणस्तर, आयोजनामा तोकिएको मात्रा अनुसार राखे/नराखेको परीक्षण गरिने केन्द्रले जनाएको छ।

तीनै तहका सरकारले शुरु गरेका धेरै आयोजनामा निर्माण सामग्रीको मात्रा नमिलाउँदा गुणस्तरीय काम नभएको नागरिकको गुनासो छ।

प्रयोगशाला बनाउन गत आर्थिक वर्षमा केन्द्रले दुई करोड रूपैयाँको यन्त्र खरीद गरेको थियो।

केही सामग्री भने चार वर्ष अघि नै खरीद गरिएको थियो।

चालु आर्थिक वर्षको शुरुमै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिए पनि प्रयोगशाला जलमग्न भएकाले काम हुन नसकेको केन्द्रले जनाएको छ।

एकहप्तामा निर्माण सामग्रीको परीक्षण सकी प्रतिवेदन दिन सकिने जनाइएको छ।

केन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको भवनको भूइँतलामा प्रयोगशाला निर्माण गर्न लागेको हो। रासस

प्रतिक्रिया दिनुहोस्