भारतको सर्वोच्च अदालतले भन्यो–'अयोध्याको भूमि राम मन्दिरको हो'

काठमाडौं। भारतकाे सर्वाेच्च अदालतले अयोध्याकाे विवादित भूमि राम मन्दिरकाे हुने फैसला सुनाएकाे छ। अदालतले निरन्तर ४० दिनकाे सुनुवाइपछि बाबरी मस्जिद–राम जन्मभूमि जमीनको विवादमा ऐतिहासिक फैसला गर्दै उक्त जमीन राम मन्दिरको भएको निर्णय सुनाएको हाे ।

सर्वाेच्च अदालतले उक्त जमीन बाबरी मस्जिदको स्वामित्वमा रहेको भन्ने मुस्लिम समुदायको दावी खारेज गरिदिएको छ। मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि अयोध्यामै पाँच एकड जमीन दिन पनि केन्द्र सरकारलाई अदालतले आदेश दिएको छ।

अयोध्याको विवाद राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर शुरू भएकाे थियाे। उक्त जमिनलाई हिन्दू र मुस्लिम दुबै समुदायले दावी गर्दै आएका थिए।

भारतको उत्तर प्रदेशस्थित अयोध्याबारे फैसला आउँदै गर्दा त्यससँग सीमा जोडिएको नेपालका नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालगञ्जको रूपैडिया नाका बन्द नै गरिएको छ।

अयोध्यामा १६ औं शताब्दीमा बनेको मस्जिद सन् १९९२ मा हिन्दूहरूले भत्काइदिएपछि भड्एिको दङ्गामा दुई हजार बढी मानिसको ज्यान गएको थियो । हिन्दूहरूले त्यहाँ पहिले राम मन्दिर रहेको र त्यसलाई नष्ट गरेर मस्जिद बनाइएको दावी गर्दै आएका छन्।

मुस्लिमहरू भने भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दुई वर्ष पछिसम्म पनि त्यहाँ आफूहरूले मात्र प्रार्थना गर्दै आएको र पछि मात्र हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर पूजा गर्न थालेको बताउँदै आइरहेका छन्। भारतका प्रधानन्यायाधीश रञ्जन गागोईले आगामी साता अनिवार्य अवकाश पाउँदैछन्। त्यसअघि नै उनले बाबरी मस्जिदबारे आफ्नै इजलासबाट फैसला सुनाएका हुन्।

प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको इजलासले पुरातत्व विभागको अनुसन्धानलाई आधार मानेर यस्तो फैसला गरेको प्रधानन्यायाधीश गागोईले बताए। उनले उक्त जमीनमा मन्दिर भत्काएर मस्जिद बनाइएको र जमीनमुनि मन्दिरको अवशेष भेटिएकाे भन्ने पुरातत्व विभागको प्रतिवेदनको आधारमा फैसला दिएको बताए।

प्रतिक्रिया दिनुहोस्