सभामुखकाे जिम्मेवारी सम्हाल्न सक्षम छुः उपसभामुख तुम्बाहाम्फे

बाँके। प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन्।

हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौं फर्कने क्रममा आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन्।

“प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ। सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ,” उनले भनिन्, “सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार छु।”

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो।

“सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ,” तुम्बाहाम्फेले भनिन्, “त्यसपछि के गर्ने भन्नेबारे दलहरूसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ।”

रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै मंसीरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उनकाे भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्