रौतहट प्रहरीले भन्यो-‘भ्रामक प्रचारबाजी बन्द गर’

रौतहट। रौतहट प्रहरीले २२ जनाको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्तका रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम प्रकरणलाई प्रभावित पार्न सुनियोजित प्रचारबाजी भइरहेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ। यस्तो प्रचारवाजी तत्काल बन्द गर्न समेत उसले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमार्फत् भ्रामक, तथ्यहीन र कपोकल्पित प्रचारमार्फत् अदालतमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखिएको जिकिरसमेत गरेको छ।

“बहाल कानून र विभागीय नीति, निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र रहेकाले जिल्ला प्रहरी कार्यालयले आलमलाई पक्राउ गरेको घामजत्तिकै छर्लङ्ग छ।

'मुद्दालाई त्रुटिरहित, निष्पक्ष बनाउनु हाम्रो मुलभूत दायित्व हो', रौतहट प्रहरीको विज्ञप्तिमा उल्लेख छ, 'तर, आरोपित पक्राउ लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकृतहरू कर्तव्यच्युत भएको भन्ने आशयका साथै सम्बन्धित कार्यालय र व्यक्तिको प्रसंग सुनियोजित रूपमा जोडी केही अनलाईन न्यूज पोर्टलले प्रोपोगान्डा गराइरहेका छन्।'

प्रहरीको विज्ञप्तिमा अनलाईनमा आएका सामग्रीलाई उल्लेख गरिए पनि त्यसको निशाना भने प्रहरी नेतृत्वप्रति देखिन्छ। केही अनलाइनहरुमा आलमलाई रौतहट प्रहरीले नभई प्रहरी महानिरीक्षकले खटाएको ‘विशेष टोलीले पक्राउ गरेको’ भन्ने प्रचार तीब्र पारिएको थियो।

कतिसम्म भने, ‘रौतहट प्रहरीले अदालतको आदेशको निरन्तर अवज्ञा गरेर आलमलाई पक्राउ नगरेपछि प्रहरी मुख्यालयले विशेष टोली पठाएको’ भन्ने प्रचारसमेत गरिएको थियो।

'यो त अति नै भो भनेर रौतहट प्रहरीले प्रतिवाद गरेको हो', प्रदेश २ मा खटिएका एक बरिष्ठ प्रहरी अधिकृतले भने, 'आफ्नो संगठनका व्यावसायिक अधिकृतहरुले जोखिम मोलेर राम्रो काम गर्दा पनि उनीहरुलाई जस दिनु र संरक्षण गर्नुसाटो उल्टै भ्रामक प्रचार गरेर बदनाम गर्ने कुत्सित मनसाय नेतृत्वले देखाएको छ। प्रहरीमा व्यावसायिक अधिकृतहरुको ठूलो पंक्ति यसबाट मर्माहत बनेको छ।'

प्रतिक्रिया दिनुहोस्