कालापानी नेपालको हो भन्ने स्पष्ट छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्र नेपालको भएको पुनःदोहोर्‍याएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुकोे ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कालापानीको विषयमा नेपाल स्पष्ट रहेको बताएका हुन्।

१७ कात्तिकमा भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई भारतीय भू–भाग भएको दाबीसहित नक्शा सार्वजनिक भएपछि नेपालमा त्यसको विरोध भएको छ।

‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ,” ज्ञवालीले भने, “तर भारतले एउटा सानो कृत्रिम तुरतुरे धारा बनाई कृत्रिम कालापानी खडा गरेर त्यहाँ क्याम्प राखिएको अवस्था छ, यसमा नेपालको सधैं असहमति रहँदै आएको छ।”

उनले याे समस्या सदाका लागि समाधान गर्न चाहेकाे बताए। “हामी तथ्य, प्रमाणहरू भिडाउँछाैं, नक्शा, त्यतिबेलाका जनगणना, लालपूर्जा हामीसँग जे जे छन, ती तथ्यहरूका आधारमा याे समस्या सदाका लागि समाधान गर्न चाहन्छाैं,” उनले भने, “हाम्राे वैरभाव बढाउने चाहना छैन, किनभने हामीलाई मित्रता प्याराे छ।”

भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालको सीमा मिचिएको विषयमा सरकारले २३ कात्तिकमा सर्वदलीय बैठकको आयोजना गरेको थियो।

बैठकमा सहभागी सबै दलका प्रतिनिधिले नेपालको सीमा मिचिएको विषयमा भारत सरकारसँग कुरा गर्न सरकारलाई आग्रहसमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्