अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन हुँदै, २१ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं। नेपालमा पहिलो पटक ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ) को मान्यता प्राप्त अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन आयोजना हुँदैछ।

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा ‘योनेक्स-सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०१९’ २७ कात्तिकदेखि काठमाडौंमा आयोजना हुँदैछ।

यसअघि इन्टरनेशनल सिरिजको नामबाट नेपालमा प्रतियोगिता भएको थियो।

यस पटकदेखि भने च्यालेन्जको नामबाट अन्तर्राष्ट्रिय ब्याडमिन्टन हुन लागेको हो।

नेपाल ब्याडमिन्टन संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ।

प्रतियोगितामा नेपाललगायत २१ राष्ट्रका १४९ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ।

संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिताको स्तर बढेसँगै यसको पुरस्कार राशिमा समेत वृद्धि हुने जानकारी दिए। “सिरिजको पुरस्कार कूल १० हजार अमेरिकी डलर हुन्थ्यो। अब च्यालेन्ज आयोजना भएपछि पुरस्कार कूल २५ हजार डलरको हुन्छ,” श्रेष्ठले भने।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल र मिश्रित युगल गरी कूल ५ विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका लागि पुरुष एकलमा सर्वाधिक ६७ खेलाडीको इन्ट्री भएको आयोजकले जनाएको छ।

यस्तै महिला एकलमा ३८, पुरुष युगलमा २१, महिला युगलमा १७ र मिश्रित युगलमा २२ इन्ट्री भएको छ। संघका अनसार कूल १६५ इन्ट्री भएको छ।

प्रतियोगितामा घरेलु टोली नेपालबाट २१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि छनोट भएका सबै खेलाडीले यसमा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए। “अहिले क्याम्पमा रहेका २० र एकजना थप गरी २१ खेलाडीले भाग लिनेछन्,” उनले भने।

क्याम्पमा नरहेका विजित थापा मगर पनि यस प्रतियोगिता खेल्नेछन्।

अध्यक्ष श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरू समेत यहाँ खेल्न आउने हुनाले यसले अनुभव प्राप्त गर्न र आफ्नो स्तर सुधार गर्न समेत सहयोग पुग्ने बताए।

प्रतियोगितामा पुरुष एकलमा विश्व वरीयतामा ५८औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिला एकलमा ३८औं वरीयताकी खेलाडीले प्रतिस्पर्धा गर्नेछिन्।

यस्तै पुरुष युगलमा २७औं, महिला युगलमा ३३औं र मिश्रित युगलमा ४४औं स्थानका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

करीब ६८ लाख ७५ हजार रूपैयाँ अनुमानित बजेट रहेको च्यालेन्जमा २५ हजार अमेरिकी डलर पुरस्कार राशि छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २० लाख रूपैयाँ, योनेक्स सनराइजले ६ हजार अमेरिकी डलर र ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ।

यसबाहेक बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी, संघसंस्था र व्यक्तिहरूबाट सहयोग जुटाइने आयोजकले जनाएको छ।

च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फको विजेताले एक हजार ८७५ अमेरिकी डलर पाउनेछन्।

यस्तै उपविजेताले ९५० डलर, तेश्रोले ३६२.५० डलर, क्वार्टरफाइनल पुग्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन्।

यस्तै पुरुष युगल, महिला युगल तथा मिश्रित युगलतर्फका विजेताले समान एक हजार ९७५ अमेरिकी डलर, उपविजेताले ९ ५० डलर, तेश्रोले ३५० डलर, क्वार्टरफाइनल पुग्नेले १८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन्।

खेलाडी तथा अफिसियलको खाने बस्ने व्यवस्था आयोजक आफैंले गर्ने समेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्