नुवाकाेटमा वडाध्यक्ष पक्राउ

नुवाकाेट। नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनका अनुसार तामाङविरुद्ध २७ जेठ २०६१ मा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सुनाइएको थियो।

३० हजार रूपैयाँ धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौं पठाएको छ।

तामाङ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्