सिसडोलको फोहोर माटोले पुर्दै काठमाडौं महानगरपालिका

काठमाडौं। काठमाडौं महानगरपालिकाले सिसडोलमा थुपारिएको फोहोर माटोले पुरेर व्यवस्थापन गर्ने भएको छ।

विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा थुपारिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको थिएन।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको बताएका छन्।

सिसडोलमा फोहोर राख्ने स्थान नहुँदा थुपारिएको फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्न लागिएको हो।

उक्त स्थानमा आउँदो दिनमा फोहोर नराख्ने र जम्मा गरिएको फोहोरले स्थानीयवासीलाई असर नपर्ने गरी व्यवस्थापन गर्न शुरु गरिएको महानगरपालिकाले जनाएको छ।

चार महीनाभित्रमा फोहोरको दीर्घकालीनरूपमा व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहोर राख्न सकिने गरी काम भइरहेको छ।

दुई वर्षका लागि भन्दै १३ वर्षदेखि सिसडोलमा फोहोर थुपार्दा त्यस वरपरको वातावरण र स्थानीयवासीको दैनीक जीवनमा असर परिरहेको छ।

सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ।

काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहोर संकलन केन्द्र निर्माणको लागि ३८ करोड रुपैयाँ बजेट छुट्याएर काम भइरहेको छ।

मन्त्रिपरिषद्को १७ मंसीर २०७५ को बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो।

करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ।

राससको सहयोगमा