राजीनामा दिएका बोलिभियाका राष्ट्रपति मोरालेसले मेक्सिकोमा शरण लिए
काठमाडौं। आफूविरूद्ध प्रदर्शन बढ्दै गएपछि स्थानीय समय अनुसार आइतबार राजीनामा दिएका बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसले मेक्सिकोले प्रस्ताव गरेको राजनीतिक शरण स्वीकार गरेका छन्।

देश छोड्ने बेलामा ट्वीट गर्दै उनले बोलिभिया छोड्नुपरेकोमा दुःख व्यक्त गरेका छन्। "म थप तागत र शक्ति लिएर फर्किनेछु", ट्वीटमा लेखेका छन्।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्डले मोरालेस मेक्सिकोको सरकारी विमानमा त्यहाँ पुगेको पुष्टि गरेका छन्।

यता बोलिभियामा भने मोरालेसका समर्थकसँग जुधिरहेका प्रहरीलाई सेनाले पनि साथ दिइरहेको छ।

देश छोड्नभन्दा पहिला मोरालेसले आफ्ना समर्थकहरूलाई आफूलाई सत्ता छोड्न बाध्य पार्ने ‘काला शक्ति’सँग जुध्न आह्वान गरेका थिए।

बोलिभियाको उपल्लो सदन (सिनेट)की प्रमुखले नयाँ निर्वाचन नहुँदासम्म अन्तरिम राष्ट्रपतिको पद आफूले लिने जनाएकी छन्।

किन राजीनामा दिए मोरालेसले?

सन् २००५ मा ५४ प्रतिशत भोट पाएर पहिलोपटक बोलिभियाका राष्ट्रपति बनेका इभो मोरालेस ल्याटिन अमेरिकामा त्यतिबेला भएको वाम विजयको लहर शुरू गर्नेमध्ये एक थिए। लामो समय कोका मजदूर संगठनको अध्यक्ष भएर काम गरेका मोरालेस आफ्ना समाजवादी सुधार कार्यक्रमबाट चर्चित भए। सन् २००९ मा ६४ प्रतिशत मत पाएर उनी राष्ट्रपति निर्वाचित भएका थिए। त्यस्तै सन् २०१४ मा ६१ प्रतिशत मत ल्याएर उनी तेस्रोपटक राष्ट्रपति भएका थिए।

२० अक्टोबरमा बोलिभियामा भएको राष्ट्रपतिय निर्वाचनमा साँघुरो मतले विजयी भएपछि मोरालेसविरूद्ध प्रदर्शनहरू हुन थालेका थिए। निर्वाचनमा धाँधली गराएको आरोप उनीमाथि लागेको थियो।

आइतबार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावमा धाँधली भएका स्पष्ट प्रमाण आफूहरूले फेला पारेको भन्दै त्यसलाई बदर गर्न माग गरेका थिए।

मोरालेसले ती निष्कर्षहरूसँग आफू सहमत रहेको भन्दै निर्वाचन आयोगमा सुधारका कदमहरू चालेर नयाँ चुनाव गराउने आफ्नो इच्छा रहेको बताएका थिए।

तर देशका नेताहरू र सेना तथा प्रहरीका प्रमुखहरूले उनलाई पद छाड्न सुझाव दिएका थिए।

त्यसअघि यसै हप्ताको शुरूमा उनका केही साझेदारहरूमाथि आक्रमण गरिएका थिए र उनीहरूका घरमा आगजनी गरिएको थियो।

आइतबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै मोरालेसले आफूले राष्ट्रपतिको पदबाट राजीनामा दिने बताए र आन्दोलनकारीहरूलाई आफ्ना दाजुभाइ दिदीबहिनीलाई आक्रमण नगर्न र आगजनी रोक्न आह्वान गरे।

राजीनामा घोषणा गर्दै मोरालेसले आफूले उक्त निर्णय अन्य समाजवादी नेताहरूमाथि ‘धम्की र आक्रमण’ नहोस् भनेर लिएको जनाएका थिए। उनले राजीनामा दिन बाध्य हुनु ‘कू’ भएको समेत उल्लेख गरेका थिए।

मेक्सिकोले के भनेको थियो?

मोरालेसले राजीनामा दिए लगत्तै मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्डले पत्रकार सम्मेलनमा उनलाई राजनीतिक शरण दिने निर्णय सुनाएका थिए।

मेक्सिकोमा बामपन्थीको सरकार छ जसले मोरालेसको समर्थन गर्छ।

इब्रार्डले बोलिभियामा भएको घटनामा सैन्य सहभागिता भएकाले त्यो ‘कू’ भएको उल्लेख गरेका थिए।

कस्तो छ प्रतिक्रिया?

बोलिभियाभर मोरालेसका विरोधीहरूले राष्ट्रिय झण्डा फहराएर खुशीयाली मनाइरहेका छन्। मोरालेसका समर्थकहरू भने ला पाज र एल अल्टो शहरमा प्रहरीसँग मुठभेड गरिरहेछन्।

- बीबीसीबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्