भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू, शिव सेना गयाे सर्वाेच्च अदालत

काठमाडौं । भारतको महाराष्ट्रमा जारी राजनीतिक गतिरोधकाबीच राष्ट्रपति रामनाथ कोविंदले राष्ट्रपति शासन लागू गरेका छन्। महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीको सिफारिसमा राष्ट्रपति कोविंदले आज साँझ संविधानको धारा ३५६ अनुसार राष्ट्रपति शासन लागू गरेका हुन्।

केही समय अघि महाराष्ट्रमा सम्पन्न निर्वाचनमा कुनै पनि पार्टीले बहुमत पाएका थिएनन् । भारतीय जनता पार्टी (भाजपा) १०५ सिटसहित सबैभन्दा ठूलो पार्टी बनेको छ भने चुनाव अघि भाजपासँग गठबन्धन गरेको शिव सेना ५६ सिटका साथ दोस्रो ठूलो पार्टी बनेको छ ।

२८८ सिटका लागि भएको चुनावमा राष्ट्रिय कंग्रेस पार्टी (एनसीपी) ले ५४ र भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले ४४ सिट जितेका थिए । ७ कात्तिकमा चुनावी नतिजा आएसँगै शिव सेनाले भाजपासँगको गठबन्धन छाडेको घोषणा गरेको थियो, जसले उसलाई एनसीपी र आईएनसीसँगसमेत गठबन्धन गर्नसक्ने बाटो खुलाएको थियो ।

महाराष्ट्रका गभर्नरले २५ कात्तिक साँझसम्म सरकार गठनका लागि बहुमत देखाउन समय दिएका थिए, त्यतिन्जेलसम्म पार्टीहरूबीच कुनै पनि सहमति हुन सकेन । सरकार बनाउनका लागि आफूसँग बहुमत रहेको भन्ने शिव सेनाको दावीलाई गभर्नरले २५ कात्तिकमा अस्वीकार गरिदिएका थिए । त्यसपछि शिव सेनाले गभर्नरको कदमलाई भारतको सर्वोच्च अदालतमा चुनौति दिएको थियो ।

सर्वोच्च अदालतमा दायर गरिएको रीटमा गभर्नरले बहुमत देखाउनका लागि कम्तिमा तीन दिनको समयसमेत नदिइएको उल्लेख छ । शिव सेनाको तर्क छ, ‘कुन पार्टीसँग बहुमत छ भन्ने कुरा सभामा गणना गरेपछि मात्रै थाहा हुन्छ, गभर्नर के मा सन्तुष्ट छन् भन्ने आधारमा होइन ।’

दुवै कंग्रेस पार्टीले आफूलाई सहयोग गर्न बचन दिएको र उनीहरूसँगको छलफल निर्णायक मोडमा पुगेको उसले दावी गरेको छ । गभर्नरले बिजेपीलाई बहुमत सिद्ध गर्न ४८ घण्टाको समय दिएकोमा बिजेपीले त्यसो गर्न नसकेपछि आफूहरूलाई बहुमत देखाउने अवसर २४ घण्टा मात्रै दिएको शिव सेनाका दावी छ ।

प्रतिक्रिया दिनुहोस्