स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध
काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन दिदीबहिनीलगायत सबैमा अनुरोध गरेका छन्।

हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताए।

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उनले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन्।

हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गरेका छन्।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि तीजका अवसरमा शुभकामना दिँदै उच्च सतर्कताका साथ पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।

“चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,” उनीद्वारा जारी सन्देशमा उल्लेख छ, “पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु।”

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्