जुम्लामा बिजुली राजनीति: कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका अन्धकार

जुम्ला। १७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ। तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिष्टका घरमा पिलपिले टुकी मात्रै बल्छन्।

२०७३ साल अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो। कम्युनिष्टका घर झिलिमिली हुन्थे, कांग्रेसका अन्धकार।

जुम्लाकोटमा सशस्त्र द्वन्द्वकालमा समेत नदेखिएको वैचारिक मतभेद २०६७ पछि ‘बिजुली राजनीति’ सँगै शुरू भयो।

तत्कालीन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत आयोजना निर्माण भएको थियो।

२७ लाख रूपैयाँ लागतमा निर्माण भई साउन २०६७ देखि संचालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिष्ट–कांग्रेस सबैले बालेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

दुई वर्षसम्म सबै घर झिलिमिली भए।

तर, २०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै शुरू भएको तिक्तता २०६९ सम्म पुग्दा बिजुली नै नबाल्ने निर्णयसम्म पुग्यो।

“२०६९ सालसम्म सबैले बालेको हो तर माओवादी पक्षधरले मेरा पार्टीले बनाएको बिजुली भन्नेजस्तो व्यवहार देखाए, अनि हाम्रो पार्टीका सबै घरधुरीले बिजुली बाल्ने वातावरण बनेन”, कांग्रेसबाट विजयी तिला गाउँपालिका–८ की वडासदस्य रत्ना बस्नेतको आरोप छ।

त्यसको दुई वर्षपछि २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारसँग लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलविद्युत आयोजना सञ्चालनको बजेट पारे।

३० लाख रूपैयाँ बजेटमा पातालामा नौ किलोवाटको विद्युत उत्पादन भयो। २०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा बिजुली बल्न थाल्यो।

कांग्रेसका घरमा बिजुली बल्न थालेको एक वर्ष नपुग्दै फेरि कम्युनिष्ट पक्षधरका घर अन्धकार भए। कारण थियो, जुम्लाकोट जलविद्युत आयोजना बिग्रिनु।

“कांग्रेस पक्षले विद्युत गृह आफ्नै जग्गामा बनाए, कामदार पनि आफ्नै पार्टीका कार्यकर्ता मात्र खटाए, हामीलाई कुनै वास्ता गरेनन्”, नेकपाका स्थानीय नेता धनलाल बस्नेतले भने, “शुरूदेखि नै पार्टीगत बनाएपछि हामी गएनौं, पछि हामीले माग्ने कुरा भएन, उनीहरुले लैजानुस् पनि भनेनन्।"

प्रतिक्रिया दिनुहोस्