त्रिविको ४५औं दीक्षान्तमा १० हजारको आवेदन

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको संख्या बढेको पाइएको छ।

त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको संख्यामा वृद्धि भएको हो ।

यस वर्ष हुने ४५औं दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

गत वर्ष ९ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए।

अधिकारीका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब सात हजारको संख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए।

आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ।

१५ जुन २०१८ देखि १४ जुन २०१९ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था छ।

सदस्य सचिव अधिकारीका अनुसार त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरेको थियो तर, तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन्।

आगामी पुस ३ गते हुने समारोहमा ६ हजार ९०० अभिभावकसमेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताए।

सहभागी प्रतिअभिभावकका लागि ३०० रूपैयाँ तोकिएको छ।

त्रिविले स्नातक तहका लागि दुई हजार २००, स्नातकोत्तर तहका लागि दुई हजार ७०० र एमफिल र पिएचडी (विद्यावारिधि)का लागि तीन हजार २०० रूपैयाँ शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि एक हजार ५०० रूपैयाँ धरौटी तोकिएको छ।

दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन्।

व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन्।

यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान संकायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा संकायमा ७८३, कानून संकायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन्।

यसैगरी त्रिवि ४५ औं दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी र सदस्यसचिवमा परीक्षा सहनियन्त्रक पशुपति अधिकारी रहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्