सरकारी तथ्यांक सार्वजनिकः भारतमा एक वर्षमा ११ हजार बढी किसानले गरे आत्महत्या

न्यू दिल्ली। विभिन्न कारणले भारतीय किसानले आत्महत्या गर्ने गरेको समाचार पटकपटक प्रकाशन हुँदै आएको छ। तर वर्षमा कति किसानले आत्महत्या गर्छन् भन्ने ठोस तथ्यांक थिएन। भिन्दाभिन्दै स्रोतले फरकफरक आंकडा बताउने गरेका थिए। तर, २२ कात्तिकमा सरकारले नै आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।

सन् २०१६ मा मात्रै ११ हजार ३७९ किसानले आत्महत्या गरेको ‘नेसनल क्राइम रेकर्डस् ब्युरो’ को प्रतिवेदनलाई भारतको गृह मन्त्रालयले पुष्टि गरेको छ। यसको अर्थ हो, भारतमा त्यो वर्ष हरेक दिन ३१ जना र हरेक महिना ९४८ जना किसानले आत्महत्या गरेका थिए।

सरकारी तथ्यांक अनुसार आत्महत्या गर्ने किसानको दर घट्दो छ। सन् २०१४ मा १२ हजार ३६० र २०१५ मा १२ हजार ६०२ जना किसानले आत्महत्या गरेका थिए।

आत्महत्या गर्ने किसानमध्ये बहुसंख्यक पुरुष छन्। आंकडाहरूले जम्मा ८ दशमलव ६ प्रतिशत मात्र महिला रहेको देखाउँछन्।

आत्महत्या गर्ने पुरुष र महिलामध्ये यति फराकिलो अन्तर हुनुको एउटा कारण सर्वेक्षण हुनसक्छ। फर्महरूमा काम गर्ने ठूलो संख्याका महिलाहरूलाई किसान अन्तर्गत राखिने गरेको छैन।

तथ्यांकले भारतमा सबैभन्दा बढी किसान आत्महत्या हुने प्रान्त महाराष्ट्र भएको देखिएको छ। महाराष्ट्रमा २०१४ मा चार हजार चार जना, २०१५ मा चार हजार २९१ जना र २०१६ मा तीन हजार ६६१ जनाले आत्महत्या गरेका छन्।

‘सूचनाको अधिकार’ उपयोग गर्दै हालै सार्वजनिक एक तथ्यांक अनुसार २०१३ देखि २०१८ को बीचमा महाराष्ट्रमा मात्रै १५ हजार ३५६ जना किसानले आत्महत्या गरेका छन्।

महाराष्ट्रपछि धेरै आत्महत्या हुने प्रान्त कर्णाटक हुन पुगेको छ। त्यहाँ २०१५ मा एक हजार ५६९ जना र २०१६ मा दुई हजार ७९ जनाले आत्महत्या गरेका थिए।

किसान आत्महत्या धेरै हुने तेस्रो प्रान्तमा तेलंगाना रहेको छ। पश्चिम बंगाल र बिहार क्रमशः चौथो र पाचौं स्थानमा पर्छन्।

प्रतिक्रिया दिनुहोस्