वायु प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

इरान। इरानको राजधानी तेहरानका विद्यालयहरू बन्द गर्न आज निर्देशन दिइएको छ।

वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको बताए।

उनका अनुसार राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरू पनि बन्द भएका छन्।

“तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको छ,” अर्का एक अधिकारीले भने।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरूले सुझाव दिएका छन्।

प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई हिजाे ढाकेपछि आज बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

हरेक वर्षको हिउँदयाममा तेहरानमा प्रदूषणका कारण उत्पन्न हुने असरहरू बढी देखिने गरेको पाइएको छ। (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस्