नेपालको भूगोल समेटेर जारी गरिएकाे नक्शा खारेज गर्न भारत सरकारसमक्ष माग
<p>काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शाप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ।</p>
<p>संगठनले आज विज्ञप्ति जारी भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताविरुद्ध नेपालको भूगोल समेटेर जारी गरिएको उक्त नक्शा तत्काल खारेज गर्न भारत सरकारसमक्ष माग गरेको हो।</p>
<p>संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्णराज केसीद्वारा जारी विज्ञप्तिमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीसँग पारस्परिक सम्बन्ध स्थापित गर्नुपर्ने भन्दै त्यसविपरीत कुनै पनि राष्ट्रले स्वतन्त्र राष्ट्रको स्वाभिमानमाथि गर्ने हस्तक्षेप मान्य नहुने जनाइएको छ।</p>
<p>“हाम्रो सङ्गठन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवादमार्फत् मिचिएको नेपाली भूमि फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न र नेपालका तर्फबाट लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको सम्पूर्ण भू–भाग समेटिएको आधिकारिक राजनीतिक नक्शा सार्वजनिक गर्न जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएकाे छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्