समयमा निर्माण नभएका २५ ठूला आयोजनाहरूको सतर्कता केन्द्रले अनुसन्धान गर्ने

काठमाडौं। समयमा निर्माण नभएका र हरेक वर्ष निर्माण खर्च बढाउँदै लगेका २५ ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने भएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले बाहिरबाट विज्ञ तथा विषयगत प्राविधिक टोली निर्माण गरी राष्ट्रिय गौरव र सार्वजनिक चासोका ती आयोजनाहरूको प्राविधिक परीक्षण गर्न लागेको हो।

आयोजना निर्माण शुरू हुने बेलाको लागतमा आयोजना सम्पन्न नहुने र गुणस्तरसमेत कायम नभएको देखिएपछि सतर्कताले विज्ञ टोली नै बनाएर ठूला आयोजनामा परीक्षणको तयारी थालेको छ।

केन्द्रबाट खटाइएका टोली सम्बन्धित आयोजनामा आवश्यकता अनुसार तीनदेखि चार महीना बस्नेछन्।

उनीहरूले चैत २०७६ भित्रै रिपोर्ट बुझाउनुपर्ने केन्द्रका प्रवक्ता तथा सूचना अधिकारी डालानाथ अधिकारीले जानकारी दिए।

टोलीले परीक्षण गर्ने २५ ठूला आयोजनामा राष्ट्रिय गौरवका २२ मध्ये १७ आयोजना रहेका छन् भने राष्ट्रिय महत्वका आठ छन्।

सतर्कता केन्द्रले प्राविधिक परीक्षण गर्न लागेका आयोजनामा दुई वटा पुल छन्। रेलमार्गअन्तरर्गत महोत्तरी र हुलाकी राजमार्गअन्तर्गत कैलालीको पुल रहेको छ।

सडकतर्फ हुलाकी राजमार्गको बाँके–संग्रामपुर खण्ड र कर्णाली राजमार्गअन्तर्गत हिल्सा सिमिकोट परियोजना रहेको छ।

यसैगरी कालीगण्डकी करिडोरभित्र रहेको पाल्पाको आँधीखोला बाटो, कोशी करिडोरअन्तर्गत उत्तर–दक्षिण खाँदबारी संखुवासभा छ्याङ्कुटी खण्डमा प्राविधिक परीक्षण गरिनेछ।

आजको नागरिक दैनिकको समाचार अनुसार अन्य सडक, विद्युत, खानेपानी आयोजनाहरू पनि अनुसन्धानको सूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्