‘वान अन वान’ भेटपछि माधवको दुःखेसो- ‘मिलके क्या करेंगे जभ दिल हि टुटगया’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का नेता माधवकुमार नेपाललाई २६ कात्तिकमा बालुवाटारस्थित सरकारी निवासमा निम्त्याए।

लामो समयदेखि ओली र नेपालबीच एक्लाएक्लै भेट र कुराकानी नभएको चर्चाबीच यो भेटघाट आफैमा अर्थपूर्ण थियो नै । त्यहीअनुसार त्यसले ठूलो चर्चा पनि पायो।

ओली र नेपालबीच बालुवाटारमा करीब चार घण्टा ‘वान अन वान’ छलफल भएको चर्चाले त सञ्चारमाध्यमहरुमा झन् ठूलो महत्व पायो।

यो भेटघाट केही महिनायता चिसिएको भनिएको दुइ नेताबीचको सम्बन्धलाई हार्दिकतामा फर्काउने नेकपा अध्यक्ष ओलीको पहलको नतीजा थियो।

नेकपावृत्तमा यो भेटघाटले बेग्लै तरंग ल्याएको पनि छ।

हुन पनि प्रधानमन्त्री ओलीको पहलमा भएको यो भेटमा दुवै नेताबीच मन माझामाझ भयो। थुप्रै विषयमा खुलेर कुरा पनि भयो।

नेपालले भने लामो समयपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको एक्लाएक्लै भेटमा खुलेर धेरै कुरा भए पनि ‘मन भने माझिइनसकेको’ आफू निकटस्थहरुलाई बताएका छन्।

‘मिलके क्या करेंगे जभ दिल हि टुटगया’ नेता नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले देखापढीसँग भने।

केही समयअघि उपचारका लागि सिंगापुर जानुभन्दा पहिले आफूले दिएको स्वास्थ्यलाभको कामनालाई गलत अर्थ लगाएर प्रधानमन्त्री ओलीले आफ्नो मन फटाइदिएको गुनासो नेपालले भेटमा ओलीसमक्ष पोखेका थिए।

“जोसँग भेट्दा पनि म तपाईंको स्वास्थ्यको चासो राख्छु, डाक्टरहरूलाई फोन गरिगरि सोध्छु अरे, प्रेस्किप्सन नै हेर्छु अरे भन्ने कुरा पनि तपाईंलाई सुनाइएछ, यस्ता कुरा तपाईँलाई कसले लगायो एक जनामात्र मान्छे अगाडि उभ्याइदिनुस्, म जुनसुकै कारबाही भोग्न तयार छु”, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “तपाईंको स्वास्थ्यबारे म पनि चिन्तित छु, मसँग पनि त मानवीय संवेदना छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि अघि बढेको एकता प्रक्रिया, बरियातामा आफूलाई झारिएको विषय, प्रदेश प्रमुखहरूको नियुक्तिलगायत विषयमा नेपालका असन्तुष्टि र असहमतिहरु बाहिर पनि आउने गरेका छन्।

पछिल्लो भेटमा नेपालले नेकपाका अध्यक्ष ओलीसँग आफूले सिद्धान्त र मापदण्डको आधारमा अडान राख्ने गरेको र व्यवहार हेरेर नेतृत्वलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्