स्थापनाको १३५ वर्षपछि फाइनान्सियल टाइम्सको सम्पादकमा महिला

काठमाडौं। विश्वप्रसिद्ध दैनिक ‘फाइनान्सियल टाइम्स’ले स्थापनाको १३५ वर्षपछि बल्ल महिला सम्पादक नियुक्त गरेको छ।

सन् १८८४ मा स्थापना भएको पत्रिकाले सम्पादक पदमा पहिलोपटक महिला पत्रकारलाई नियुक्त गरेको हो।

कार्यकारी सम्पादकको रूपमा कार्यरत रोउला खलाफ सम्पादकमा नियुक्त भएकी हुन्।

लायनल बार्बरले सम्पादक पद छोडेपछि उनी नियुक्त भएकी हुन्।

बार्बर १४ वर्षदेखि फाइनान्सियल टाइम्सका सम्पादक थिए भने ३४ वर्षदेखि उक्त पत्रिकामा कार्यरत थिए। उनी सन् १९८५ मा उक्त पत्रिकामा आबद्ध भएका थिए र वासिङ्टन संवाददाता र ब्रसेल्स ब्युरो भएर समेत काम गरेका थिए।

खलाफ सन् २०१६क देखि पत्रिकाको कार्यकारी सम्पादक थिइन्। उनी उक्त पत्रिकामा २४ वर्षदेखि कार्यरत छिन्। अरब विद्रोहताका उनले गरेको रिपोर्टिङ स्मरणीय छ। पत्रिकामा भने उनी अफ्रिका संवाददाताको रूपमा आबद्ध भएकी थिइन्।

"मैले लायनल बार्बरले हासिल गरेका असामान्य उपलब्धीलाई अघि बढाउने छु।", सम्पादक नियुक्त भएपछि उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पत्रिकाका सञ्चालकहरूले खलाफको अनुभव र लगावको सम्मान गरेका छन्।

"२४ वर्षको कार्यकालमा खलाफले आफ्नो लगाव, प्रतिबद्धता र निर्णयक्षमता पुष्टि गरेकी छन्", पत्रिकाको प्रकाशन गृह ‘निक्कि’का अध्यक्ष त्सुनेउ किटाले भनेका छन्।

- द इन्डेपेन्डेन्टबाट

प्रतिक्रिया दिनुहोस्