श्रमिक बालबालिका दुर्व्यवहार भोग्न बाध्य

काठमाडाैं। श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ।

उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुर्व्यवहार भोगिरहेका नतिजा सार्वजनिक भएको हो।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किंग्स कलेजले संयुक्तरूपमा गरेको अध्ययनमा शारीरिक, यौन, भावनात्मक र बेवास्तालगायतमा दुर्व्यवहार भोगेका जनाइएको छ।

ती दुई विश्वविद्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको अध्ययनमा ६२ प्रतिशत बालबालिकाले ती दुर्व्यवहार र मानसिक समस्याबाट पीडित भएको उल्लेख गरिएको छ।

ती बालबालिकामध्ये ३८ बालक र ६५ बालिका रहेका थिए।

उद्धार गरी विभिन्न आठ संस्थामा रहेका १२ देखि १८ उमेर समूहका ती बालबालिकामा सो अध्ययन गरिएको थियो।

संवेगात्मक स्वास्थ्यलाई पनि स्वास्थ्यको अभिन्न पाटोका रूपमा लिइन्छ। तर, यस क्षेत्रलाई सरकारले ध्यान दिएको देखिँदैन।

‘डिप्रेशन’, ‘एन्जाइटी’ ‘रपोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर’ संवेगात्मक स्वास्थ्यसितसम्बन्धी मानसिक रोग हुन्।

“हामीले यी बालबालिकालाई छनौट गर्नुको मुख्य कारण ती बालबालिकाको जीवनकालमा धेरै किसिमका दुर्व्यवहार भोगेका हुन्छन्, तर मानसिक स्वास्थ्यका अवस्थाका बारेमा खासै जानकारी रहेको छैन”, किंग्स कलेजका प्राध्यापक एवं अनुसन्धानका टोली नेता जानिफिर एफ लुले भने।

यस किसिमको अनुसन्धान नेपालसहित बेलायत र भारतमा पनि एकसाथ गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्