भूकम्प प्रभावित पाँच लाखबढीले लिए पुनर्निर्माणको तेस्रो किस्ता

काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पबाट प्रभावित पाँच लाख १४ हजार ५७१ लाभग्राहीले तेस्रो किस्तावापतको रकम लिएका छन्।

घर पुनर्निर्माण गरी छाना छाउने तहसम्म पुर्‍याएपछि लाभग्राहीलाई तेस्रो किस्ता रकम दिने प्रावधान छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २५ कात्तिकसम्म चार लाख ७२ हजार ३५१ लाभग्राहीहरु भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरी नयाँ घरमा सरिसकेका छन्।

एक लाख ९४ हजार २१९ लाभग्राहीले पुनर्निर्माण गरिरहेका छन्।

निजी आवास अनुदान प्राप्त गर्न योग्य आठ लाख १६ हजार ६८६ लाभग्राहीमध्ये करिब ९४ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेको प्राधिकरणले जनाएको छ।

अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ९८ दशमलब ९२ प्रतिशतले पहिलो किस्ता लिएका छन्। त्यस्तै ७८ दशमलब ९९ ले दोस्रो किस्ता पाइसकेका छन्।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार बर्षा र चाडपर्वहरु सम्पन्न भई घर निर्माण गर्ने मौसम शुरु भएकोले निजी आवास पुनर्निर्माणको काममा तिव्र रुपमा अगाडि बढ्नेछ।

प्राधिकरणले २०७५ को असार मसान्तसम्म पहिलो किस्ता लिने लाभग्राहीलाई ३० कात्तिकसम्म दोस्रो र सोही अवधिभित्र दोस्रो किस्ता लिएका लाभग्राहीलाई ३० माघ २०७६ सम्म तेस्रो किस्ता लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्