आलमलाई श्रीनारायण सिंहले इजलासमा सोधे– ‘विस्फोट भएको होइन भने मेरो छोरा कहाँ छ, देखाइदेऊ’

रौतहट। २७ चैत २०६४ मा भएको विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले आज रौतहट जिल्ला अदालतमा न्यायाधीशसमक्ष न्यायको याचना गरेका छन्।

विस्फोटमा परि घाइते भएका सिंहसहित अन्य २२ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका सांसद मोहम्मद अफताव आलमको मुद्दामा थुनछेक बहस सकिएपछि न्यायाधीशले जाहेरीकर्ता र प्रतिवादी दुवैलाई आफ्ना कुरा राख्ने अनुमति दिएका थिए।

२१ कात्तिकदेखि जारी थुनछेक बहस अन्तरगत आज सरकारी वकीलले प्रतिवादीका वकीलले उठाएको प्रश्नको जवाफ दिएपछि न्यायाधीश दीपक ढकालले शुरूमा राजपुतलाई आफ्ना भनाइ राख्ने मौका दिए।

श्रीनारायण सिंह राजपूतले इजलासमा आलमलाई सोधे, “यदि तिमीहरूले दावी गरे जस्तै विस्फोट नै भएको होइन भने मेरो छोरो त्रिलोक कहाँ छ, मलाई देखाइदेऊ।”

उनले आफूलाई जाहेरी फिर्ता लिन तथा बयान फेर्न आलमपक्षले निरन्तर दबाब दिइरहेको पनि इजलाससमक्ष खुलासा गरे। “म लगायत उक्त घटनाका सबै साक्षीलाई आलमका मान्छेले प्रलोभन र डर–त्रास देखाइरहेका छन् श्रीमान्,” उनले भने, “घटना नघटेको भए यिनीहरूले किन डर देखाएका छन् ? किन मलाई करोड रूपैयाँ दिनेसम्मको प्रलोभन दिइरहेका छन् ?”

उनले १२ वर्षदेखि आफ्नो छोराका हत्यारालाई न्यायको कठघरामा उभ्याउन आफू लडिरहेको बताउँदै न्यायाधीशसमक्ष आफूलाई न्याय दिन माग गरे।

त्यसपछि प्रतिवादी मोहम्मद अफताव आलमले घटना भएकै होइन भन्ने आफ्नो पुरानो दावी दोहोर्‍याए। आफूले हिंसा र आतंकको राजनीति कहिल्यै नगरेको बताउँदै उनले शान्ति नै आफ्नो राजनीतिको मूल आधार भएको बताए।

आफूले २०५३ र २०५६ मा चुनाव जितेको क्षेत्र भएकाले उक्त क्षेत्रमा २०६४ मा चुनाव जित्नका लागि बम विस्फोट गराउन आवश्यक नै नरहेको तर्क गरे। उनले आफूलाई फसाउन खोजिएको पनि बताए।

बहस सकिएपछि आजै थुनछेक आदेश आउने अनुमान गरिएको छ ।

पढ्नुहाेस्

‘श्रीमानले पनि भगवानसरह न्याय गर्नुहुन्छ भन्ने आश छ’ (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्