हतियारसहित पक्राउ परेका तरूण दल नेपालगन्ज सभापतिसहित चार जनाविरूद्ध मुद्दा दायर

नेपालगन्ज। हतियारसहित पक्राउ परेका तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित चारजनालाई हातहतियार तथा खरखजनासम्बन्धी बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

सरकारी वकील कार्यालय बाँकेले २८ कात्तिकमा मुलुकी अपराध संहिता–२०७४ को दफा १३२(२) बमोजिम सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

अभियोग पुष्टि भएमा पाँच वर्ष कैद सजाय र ५० हजार जरिवाना हुने व्यवस्था छ।

यस्तै माधव नेपाली, प्रितम थापा र यमबहादुर बुढामगरलाई भने थप सजायको माग गरिएको छ।

यी तीनजना कर्तव्य ज्यान मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर आएकाले थप सजाय माग गरिएको बाँके जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता यामबहादुर बानियाले बताए।

“कैद भुक्तान गरिसकेकाको हकमा दोब्बर सजाय हुने व्यवस्था छ,” बानियाले भने।

अहिले चारैजना अभियुक्तको बयान चलिरहेको छ।

बयान सकिएपछि बहस हुने बाँके जिल्ला अदालतका शाखा अधिकृत वीरबहादुर बोहोराले जानकारी दिए।

“आज बयान भ्याइने सम्भावना निकै कम छ, बयान सकिएपछि बहस र त्यसपछि थुनछेक बहस हुनेछ,” बोहोराले भने।

१४ कात्तिकमा कोहलपुर प्रहरीले नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत रहेको नमस्ते रिसोर्टमा पार्किङ गरिराखेको बा१८च ४२११ गाडी चेकजाँचका क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा आधुनिक पेस्तोल र गोली फेला पारेको थियो।

सो क्रममा प्रहरीले तरुण दल नेपालगन्जका नगर सभापति शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेके थियो।

दुईजना सो घटनामा संलग्न नदेखिएकाले सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए।

तरुण दलका शाहसहितका चारजना विरुद्ध मुद्दा दायर भएपछि तरुण दल आन्दोलित बनेको छ।

प्रतिक्रिया दिनुहोस्