विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले दियो एक अर्ब २७ करोड अनुदान

काठमाडौं। विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि एक करोड ८५ लाख अमेरिकी डलर (करीब एक अर्ब २७ करोड रूपैयाँ) बराबरको अनुदान उपलब्ध गराउने भएको छ।

उक्त अनुदानसम्बन्धी सम्झौतामा आज नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन्।

उक्त अनुदान कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन परिचालन गरिनेछ।

नेपाल सरकारको 'विद्यालय क्षेत्र विकास कार्यकम' एक क्षेत्रव्यापी कार्यक्रम हो, जसलाई विश्व बैंक समूहअन्तर्गतको इन्टर डेभलपमेन्ट एसोसिएसन (आईडीए) को १८५ मिलियन अमेरिकी डलर ऋण सहायतासहित एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरसीप फर एजुकेसन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित रिच मल्टि-डोनर ट्रस्ट कोष लगायतका निकायले सहयोग पुर्‍याइरहेका छन्।

'जीपीई कोभिड-१९ द्रूत कोष' अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड-१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्‍याउनेछ। जसले शिक्षा क्षेत्रमा यस महामारीले पुर्‍याउने सम्भाव्य असरहरूलाई कम गर्न र प्रतिकार्यमा सहयोग गर्नेछ।

"यस अतिरिक्त अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभारी छौं। यस सहयोगले कोभिड-१९ का कारण बालबालिकाको सिकाइमा भएको क्षति न्यूनीकरण गर्नका लागि टेवा पुर्‍याउनेछ," सहसचिव नेपालले भने।

यस अनुदानले चालु महामारीका कारण विद्यालयहरू बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुग्ने उनको भनाइ छ। साथै, यस अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः सुचारू गर्न र खेर गएको सिकाइको समय र मनोवैज्ञानिक प्रभावसहितका विद्यार्थी र शिक्षकहरूमा परेका विविध प्रभावहरूलाई कम गर्न पनि महत्त्वपूर्ण हुने सहसचिव नेपालले बताए।

यस अतिरिक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि बजेट उपलब्ध गराउनेछ। जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चारमाध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन्।

"यस महामारीका कारण नेपाललगायत विश्वभरकै देशहरूमा शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रहरू मध्ये एक हो जसले गर्दा बालबालिकाको सिकाइको नतिजामा गहिरो प्रभाव परेको छ," मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने, "यस अनुदानले खासगरी बालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउनेछ।"

यस अतिरिक्त सहयोगले नेपालको शिक्षा क्षेत्रलाई पहिलेभन्दा राम्रो बनाउनका लागि नेपाल सरकारले चालेका वृहत उत्थानशील पुनर्लाभका पहलहरूलाई बढावा दिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्