नेपाल भ्रमण वर्ष शुभारम्भको तयारी गर्दै कर्णाली

काठमाडाैं। कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भको तयारी थालेको छ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न थालेको तयारीसँगै कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुभारम्भको तयारीलाई तीव्रता दिएको हो।

यसका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही संरक्षक र पर्यटनमन्त्री नन्दसिंह बुढा अध्यक्ष रहने गरी ३१ सदस्यीय ‘कर्णाली प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति’ गठन गरिसकेको छ।

भ्रमण वर्षलाई स्वागतयोग्य, सफल र सुखद् बनाउन पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधाका लागि होटल तथा यातायात व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले जानकारी दिए।

“यसका लागि ३ मंसीरमा सर्वपक्षीय बैठक आह्वान गरिएको छ”, मन्त्री बुढाले भने, “त्यसले भ्रमण वर्ष शुभारम्भ दिनलाई भव्य बनाउन सहयोग पुग्ने छ।”

संरचना निर्माण, प्रदेशको नीतिगत सुधार र १ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शुभारम्भ दिनको महत्त्व बढाउन यस अघि छलफल भएको र यसलाई मूर्तरुप दिन पुनः सरोकारवालासँग छलफल गरिने उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्