पत्रकारले दिने सूचना तथ्यपरक हुनुपर्छः गण्डकी प्रदेश सभामुख

पाेखरा। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पत्रकारले दिने सूचना वस्तुवादी, तथ्यपरक र अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिएका छन्।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले समाचारका माध्यमबाट सत्य तथ्य विषयलाई जनतासमक्ष ल्याउनु पत्रकारको दायित्व भएको बताए।

संसदीय पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई व्यवस्थितरूपमा समाचार सङ्कलन गर्ने वातावरण निर्माणका साथै क्षमता अभिवृद्धिलगायतका विषयमा गण्डकी प्रदेशसभाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको हकहितका साथै क्षमता अभिवृद्धिलगायतमा महासंघ क्रियाशील बन्दै आएको बताउँदै संसदीय पत्रकार मञ्चसँग पनि सहकार्य गर्दै अघि बढ्ने धारणा राखे।

साधारणसभाले सचिव विशन क्षेत्रीले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रोहितराज पराजुलीले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

साधारणसभाले संसदीय पत्रकार मञ्चको सदस्यता वृद्धि गर्ने सम्बन्धमा केशवशरण लामिछानेको संयोजकत्वमा वासुदेव पौडेल र सदस्यसचिवमा विशन क्षेत्री रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्