सीमा सुरक्षामा सशस्त्रलाई जनशक्ति अभाव

काठमाडौं। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई सुरक्षामा खटिन थप जनशक्ति आवश्यक भएको छ।

पर्याप्त जनशक्ति नहुँदा नेपालतर्फको सीमा सुरक्षा कमजोर भएको सशस्त्रको भनाइ छ।

भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्रमा हरेक पाँच किलोमिटरको फरकमा सीमा सुरक्षा बल (एसएसबी) को बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) राखेको भए पनि नेपालतर्फ भने जनशक्ति अभावले सशस्त्र प्रहरीको बिओपी २२० देखि ३० किलोमिटरको फरकममा मात्रै छ।

कूल जनशक्तिको आधा सीमाक्षेत्रमा खटिएको छ भने ७७ वटा जिल्ला र विपद् व्यवस्थापनमा बाँडिएको आजको नागरिक दैनिकमा समाचार छ।

सशस्त्र प्रहरीका प्रवक्त डीआइजी सुरज श्रेष्ठले सशस्त्र प्रहरीलाई थप जनशक्ति आवश्यक भएको बताए।

उनले हालसम्म भएकै जनशक्तिबाट व्यवस्थापन भइरहेको तर अब बोर्डर अब्जर्भेसन आउट पोस्ट (बिओपी) बढाउँदा जनशक्ति अपुग हुने बताए।

“भारततर्फ ३६० वटा बीओपी छन् भने चीन र भारत दुवैतर्फ गरेर ११५ पुर्‍याएका छौं, सात किलोमिटरको फरकमा राख्ने हो भने २६५ पोस्ट आवश्यक हुन्छ” डीआइजी श्रेष्ठले भने।

हाल १८ हजार ४६२ जना सशस्त्र प्ररी सीमा सुरक्षाका लागि खटिएका छन्।

सशस्त्र प्रहरीमा विभिन्न तहका गरी हाल ३७ हजार १२४ जनाको दरबन्दी छ। करीब चार हजार दरबन्दी पदपूर्ती गर्न बाँकी नै छ।

सशस्त्रले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा गृहमन्त्री विमलेन्द्र निधिसमक्ष दरबन्दी थप र प्रत्येक पाँच किलोमिटरमा बीओपी राख्न प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्