विद्युत् प्राधिकरण अत्तरियाले ३३ करोड बढी बक्याैता उठाउन बाँकी
कैलाली। नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोड रूपैयाँभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी छ।

कार्यालयले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७५/०७६ सम्मको मात्रै ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको हो।

प्रदेशमा सडक बत्तीबापत् ९ करोड ४८ लाख २० हजार, गैरव्यापारिक एक करोड ६८ लाख २२ हजार, कालोसूचीमा राखिएका ग्राहकबाट एक करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट २० करोड ५२ लाख १० हजार गरी ३३ करोड सात लाख रूपैयाँ महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको जनाइएको छ।

वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख शतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको बताए।

महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले बक्यौता रकम सङ्कलन हुने अपेक्षा लिइएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।

यससँगै १२ वटा विद्युत् वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णको भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्