नेकपा अध्यक्ष दाहालले भने– ‘सरकार र पार्टीविरूद्ध चाैतर्फी घेराबन्दी भयाे’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अहिले पार्टी र सरकारका विरुद्ध चारैतिरबाट घेराबन्दी भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरूमाथि चारैतिरबाट घेराबन्दी भएको बताएका हुन्।

“अहिले विश्व हाम्रो हातमा छैन, अरूकै हातमा छ,” दाहालले भने, “संसारले कम्युनिष्टहरू अगाडि नबढुन्, पछाडि फर्किउन् भन्ने चाहन्छ। हामीभित्र तोडफोड गराउने, भ्रम सिर्जना गराउने र अहंकार पैदा गर्न अनेक हतकण्डा अपनाइरहेका छन्।”

त्यसलाई परास्त गर्न युवाको शक्ति, चेतना, सक्रियता र पहलकदमी आवश्यक रहेको उनले बताए ।

गठबन्धन हुँदादेखि नै आफूहरूमाथि षड्यन्त्र भइरहेको उनको भनाइ छ।

नेकपा अध्यक्ष दाहालले नेकपाको एकता प्रक्रिया नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने असाधारण पहल भएको बताए।

“यो एकता राष्ट्रपति, प्रधानमन्त्री बन्नलाई गरेको हो कि भन्ने तल्लो स्तरको टिप्पणी गरिएका छन्,” दाहालले भने, “तर, यो त्यागको एउटा उदाहरण हो।”

नेकपाको लिखित दस्तावेजमा तत्कालीन माओवादीको २१ औं शताबन्दीको जनवाद र तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद समेटिएको र यी दुवै विचारलाई विकसित र परिमार्जन गरेर ‘समाजवादोन्मुख जनताको जनवाद’ भनिएको उनले स्पष्ट पारे।

“कसैलाई मदन भण्डारीलाई इन्कार गरिएको हो कि र कसैलाई २१ औं शताब्दीको जनवादलाई अस्वीकार गरिएको हो कि भन्ने लागेको हुन सक्छ,” दाहालले थपे, “तर त्यसो होइन, जनताको बहुदलीय जनवाद, मदन भण्डारीको योगदान, माओवादीको योगदानसमेतलाई गम्भीर समीक्षा गरेर परिमार्जन र विकास गरिएको हो।”

यस्तै अहिलेको उपनिर्वाचनलाई उनले सानो अग्निपरीक्षा भएको बताएका छन्। “हाम्रो लोकप्रियता घटेको छैन, बढेको छ भनेर देखाउनुपर्नेछ,” उनी भन्छन्, “हामीले पहिले नजितेका क्षेत्रमा हामीले जित्यौं भने हामीमाथि लगाइएका सबै आरोपहरू खारेज हुनेछन्।”

प्रतिक्रिया दिनुहोस्