छानबिन आयोगमा पदाधिकारीका लागि परेका नामहरू भाेलि सार्वजनिक गरिने

काठमाडाैं। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले भाेलि, २ मंसीरमा सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ।

समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरू सार्वजनिक गर्ने र ती नामहरूमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ।

दुवै आयोगमा पदाधिकारीहरूमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैंले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरू पनि रहेको उनको भनाइ छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो।

पदाधिकारीका लागि सम्भावित नामहरूमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन।

अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ।

दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्