अफ्रिकी मुलुक बुर्किना फासोमा ३२ आतंककारी मारिए
ओगाडुगा। अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले मुलुकको उत्तरमा सञ्चालन गरेको एक सैन्य कारबाहीमा कम्तीमा ३२ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ।

आतंककारी समूहले गस्तीमा रहेको सैन्य टोलीमाथि आक्रमण गरेपछि सेनाले प्रतिकारबाही गरेको थियो।

यस कारबाहीका क्रममा एकजना सिपाहीको पनि मृत्यु भएको छ।

एक महिनाअघि मात्र एक क्यानाडेली खानी कम्पनीका मजदुर बोकेको सवारी साधनलाई लक्षित गरी आतंककारीले गरेको आक्रमणमा ३७ जना सर्वसाधारणको ज्यान गएको थियो।

सेनाले चलाएको कारबाहीका क्रममा लोरुमस्थित योरसालाबाट यौनदासीका रूपमा बन्धक बनाएर राखिएका केही महिलाको उद्धार गरिएको छ।

विद्रोहीबाट सेनाले हातहतियार र अरु युद्ध सामग्री पनि बरामद गरेको थियो।

गरिबीको चपेटामा पिल्सिएको बुर्किना फासोमा सन् २०१५ यता शुरु भएको अतिवादी जिहादी आक्रमणबाट सात सयभन्दा बढीको मृत्यु भइसकेको छ।

गाउँगाउँमा शुरु भएको हिंसाका कारण पाँच लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन्।

यी आक्रमणको जिम्मेवारी अल–कायदा र इस्लामिक स्टेट समेतका अनेक समूहले लिने गरेका छन्।

मुलुकको कमजोर हातहतियार र तालिमप्राप्त सुरक्षाफौजको फाइदा उठाएर हिंसात्मक कारबाहीहरू वर्षैपिच्छे बढ्दै गएका छन्, र सन् २०१९ यता यो अझ बढेको छ।

बुर्किना फासोका छिमेकी मुलुकहरू माली र नाइजर समेतमा फैलिएको यस हिंसात्मक कारबाही रोक्न अफ्रिकी सेनाका साथै फ्रेन्च र अमेरिकी सैनिक तैनाथ गरिए पनि सफलता हासिल हुन सकेको छैन। (रासस/एएफपी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्