केचनाकलन घुम्न आएका पाँच युक्रेनी भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ

भद्रपुर। नेपालको सबैभन्दा होचो स्थान केचनाकलन घुम्न आएका पाँच जना युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ।

खुला सिमानाको पत्तो नपाएर भारतीय भू-भागमा पुगेका उनीहरुलाई बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

कादोगाउँमा रहेका एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन्।

झापाको केचनाकलन गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ।

प्रहरीका अनुसार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर २९ कात्तिकमा अलमलिँदै एक सय मिटर टाढा भारतीय भूमि कादोगाउँ पुगेका थिए।

झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय सुरक्षाकर्मीसँग आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्