बाँकेमा धान खरिद शुरू

बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ।

संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ।

मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिए।

उनका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ५३२ रूपैयाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ६७३ रूपैयाँमा खरिद गर्न मूल्य निर्धारण गरेको छ।

२७ कात्तिकबाट खरिद शुरु गरेको कार्यालयले यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ।

बाँकेमा यस वर्ष धान उत्पादन राम्रो भएकाले लक्ष्यअनुसार खरिद गर्न सकिने सो कार्यालयको अनुमान छ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, यो वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको छ।

बाँकेका किसानहरूले यस वर्ष पनि राधा—४, सुख्खा—३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्