हत्या आराेपमा सिरहामा पाँचजना पक्राउ

सिरहा। घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँचजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

भारत विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायतका ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२, सारस्वरस्थित कमला नदी छेउ २१ कात्तिकमा शव फेला परेको थियो।

हत्या आरोपमा सिरहाको धनगढीमाई नगरपालिका–१० का ३८ वर्षीय फुलगेन साह, उनका भतिजो मिर्चैया नगरपालिका–४, जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६, सरुवामडाका २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको र फुलगेनकै माध्यमबाट अन्य व्यक्तिहरूसँग पनि चिनजान भएको थियो।

सो क्रममा ती व्यक्तिहरूसँग यादवले भूतप्रेत भगाउन झारफुक गरिदिन्छु भन्दै पैसा लिएको तर, बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासोहरू आएको प्रहरीले जनाएको छ।

चिनजानकै क्रममा फुलगेन साह तथा यादवबीच केही रकम लेनदेन भएको थियाे।

साे रकम फिर्ता माग्दा उल्टै यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचैजना मिलेर यादवकाे हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरू समेत फेला परेको चतुर्वेदीले बताए।

पक्राउ परेका पाँचैजना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्