ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई पक्राउ गरेको छ।

टोलीले आज अपरान्ह ४ बजे उनलाई काठमाडौंबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएपछि उनी फरार थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गरिदिन अनुमति दिएको थियो।

२६ असोज २०७६ मा बाँकेको बैजनाथ गाउँपालिका-३ मा लागेको मेलामा केशर खड्का नेतृत्वको समूहले मेला संयोजक लोकेन्द्र शाहीलाई खुकुरी प्रहार गरेर आक्रमण गरेकाे थियाे।

आक्रमण लगत्तै खड्का फरार थिए।

प्रहरीले घटना लगत्तै घटनामा संलग्न तेजु रोकाया, यमबहादुर राना, पुस्कर राना, विष्णु रोकाया र सुरेश रानालाई पक्राउ गरेको थियो।

उनीहरूविरुद्द जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो।

अदालतले यमबहादुर रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍याे भने बाँकीलाई धरौटीमा रिहा गरेको थियो।

ज्यान मार्ने उद्योगमा प्रतिवादी बनाइएका केशर खड्कालाई फरार सूचीमा राखिएको थियो।

महाशाखाको टोलीले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएपछि उनलाई अदालतमा उपस्थित गराइने कोहलपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्