दुईमाजु मन्दिर परिसरमा व्यवसाय गर्न रोक
काठमाडौं। खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको गुठीको जग्गामा व्यवसाय गर्न माग गर्दै अदालत पुगेका व्यापारीको पक्षमा अन्तरिम आदेश जारी गर्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ।

अमृता भट्टराईले गुठी संस्थानसँग काठमाडौं महानगरपालिका वडा नं.२८ स्थित दुईमाजु गुठी परिसरभित्र व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेकी थिइन्।

त्यसपछि उनले १७ माघ २०७५ मा उर्मिला कडरिया र मरिण ठाकुर इन्टरनेशनलसँग सम्झौता गरी उक्त क्षेत्रमा व्यापार गर्न दिएकी थिइन्।

अमृता र गुठी संस्थानबीचको करार खारेज भएपछि अमृताले उर्मिला र मरिण ठाकुर कम्पनीसँग गरेको सम्झौता पनि स्वतः खारेज हुने भन्दै उनीहरूलाई त्यहाँ गरिरहेको व्यापार बन्द गर्न महानगरपालिकाले १५ असोजमा निर्देशन दिएको थियो।

अमृता भट्टराईसँग भएको सम्झौताबमोजिम मन्दिर परिसरभित्रको खाली जग्गामा व्यवसाय सञ्चालन गरिरहेकाले त्यसलाई निरन्तर गर्न पाउनुपर्ने भन्दै उर्मिला र मरिण ठाकुर कम्पनीले अदालत गुहारेका थिए।

१७ कात्तिकमा उर्मिलाले अमृता भट्टराईसमेत चारजनाविरुद्ध दायर गरेको मुद्दामा आज जिल्ला न्यायाधीश भुवनसिंह थापाले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन्।

व्यापारीहरूले अमृता भट्टराईसँगको करार थथावत् परिपालना गराउन माग गरेका थिए ।

तर, सम्पदा क्षेत्र मासिएको भन्दै काठमाडौं महानगरपालिका र गुठी संस्थानले २९ कात्तिकमा सम्पदा संरक्षण अभियान्ताहरूसँग मिलेर फलामे टहरामा ताला लगाएको थियो।

ताला लगाउने क्रममा पनि व्यापारीहरूले अमृता भट्टराईले गुठी संस्थानको मिलेमतोमा एकतर्फी रूपमा सम्झौता खारेज गरी अन्याय गरेको बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्