बाँके र बर्दियामा १०३ वटा नेपाल-भारत सीमास्तम्भ गायव
बाँके। बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत सीमामा रहेका ५५२ वटा सीमास्तम्भमध्ये १०३ वटा हराएका छन्।

बर्दियामा ९४ वटा र बाँकेमा नौ वटा सीमास्तम्भ गायव छ।

बाँके र बर्दियासँग भारतको बहराइच जिल्लाको सीमा जोडिएको छ। यहाँ करीब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड छ।

बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ।

नेपाल-भारत छुट्याउने बाँकेखण्डमा मुख्य ३२ र सहायक २७५ गरी ३०७ सीमास्तम्भ छन्। जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार वटा खोलाले बगाएको छ।

एउटा सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने छ।

यस्तै बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ। तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन्।

पुनर्निर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन्। यहाँको सात सहायक र २५ साना सीमास्तम्भ पनि खोलाले बगाएको छ।

भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर छ। सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ। भारततर्फ भने एसएसबीको बाक्लो उपस्थिति छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ।

“हामीले दैनिक सीमामा गस्ती गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, “सीमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ ।”

“हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ”, अधिकारीले भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ रहेको भन्दै सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि पहल गरिरहेको बताएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्