सिंहदरबारमा भेटिएका श्रममन्त्री विष्टले भने- ‘मन्त्री पद स्थायी होइन’ (भिडिओसहित)

काठमाडौं। आज मन्त्रिपरिषद् पुनर्गठन हुने तयारी गरिएपछि सिंहदरबारस्थित मन्त्रालयहरू सुनसान भए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी मन्त्रीहरूलाई हिंजो, ३ मंसीर साँझको बैठकमै गराएका थिए।

त्यहीकारण हुनसक्छ, १० बजे मन्त्रालय पुगिसक्ने मन्त्रीहरू आज १२ बज्दासम्म पनि मन्त्रालय पुगेनन्।

त्यतिबेलासम्म मन्त्रालय पुग्नेमा श्रममन्त्री गोकर्ण विष्ट मात्र थिए।

उद्योगमन्त्री मातृकाप्रसाद यादव आफ्नो गाडी मन्त्रालयमा पठाएर आफू भने निवासमै बसे भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पनि गाडी मात्रै मन्त्रालय पठाइन्।

१२ बजेपछि भने पर्यटनमन्त्री योगेश भट्टराई, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, सञ्चारमन्त्री गोकुल बाँस्कोट र महिला तथा बालबालिकामन्त्री थममाया थापा पनि मन्त्रालय पुगे।

हामीले मन्त्रालयमै भेटिएका श्रममन्त्री विष्टलाई सोध्यौं- “मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेपछि कोही मन्त्री मन्त्रालय आउनु भएको छैन, तपाइँ चाहिँ आउनुभएछ नि ?”

जवाफमा मन्त्री विष्टले भने, “मन्त्रीमण्डल पुनर्गठन स्वाभाविक प्रकृया हो। व्यक्ति पदमा रहँदा वा नरहँदा पनि देश र जनताका लागि काम गर्नुपर्छ। काम गर्ने कुराबाट अधेरी बन्ने भन्ने कुरा स्वाभाभिक हुन सक्दैन। आज म मन्त्रालय आएँ भेटघाट थियो। केही बैठक थिए। हामीले घोषणा गरेका केही कार्यक्रमलाई सफल पार्न गरिने प्रयत्न थिएँ। म त्यसका लागि मन्त्रालय आएको हुँ।”

एकथरीले मन्त्री विष्ट पनि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा बाहिरिने चर्चा गरिरहेका छन्। मन्त्री विष्ट त्यसका लागि पनि तयार देखिए। “पदमा रहँदा मैले जे सक्छु, हरदम योगदान गर्नुपर्छ। राजनीतिमा मन्त्री हुने, मन्त्री पदबाट बाहिरिने, मन्त्रीमण्डल विस्तार हुने स्वाभाविक कुरा हो। कोही व्यक्ति पनि बाँचुन्जेल पदमा रहँदैन।”

उनले मुख्य कुरा जनताको सेवा गर्ने भएको बताए। “देश र जनताप्रतिको आफ्नो कर्तव्य र दायित्व इमान्दारीपूर्वक पुरा गर्ने हो, पद त अस्थायी कुरा हो”, उनले भने, “त्यसकारण यो अस्वाभाविक र हतास बन्नुपर्ने विषय नै होइन।”

उनले राजनीति गर्ने व्यक्तिले पदमा नरहँदा पनि जनताप्रतिको कर्तव्य पुरा गर्नुपर्ने उल्लेख गरे। “राजनीति गर्नु भनेको पदका लागि मात्र होइन”, उनले भने, “अरु साथीहरुले के सोच्नुहुन्छ मलाई थाहा छैन, तर मेरा लागि कुनै पनि पद सँधैका लागि होइन।”

प्रतिक्रिया दिनुहोस्