स्याङ्जाका पहिरोपीडितलाई राहत

स्याङ्जा। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जामा प्राकृतिक विपद्मा परेका छुट्टाछुट्टै परिवारलाई करिब १५ लाख रुपैयाँ राहत वितरण गरेकी छन्।

मन्त्री अर्यालले असोज ८ को पहिरोमा वालिङ नगरपालिका-१४ मा मृत्यु भएका परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराउँदै मृतक माया नेपालीका छोरा भोजराज र छोरी मनिषालाई थप सहयोगको आश्वासन दिइन्। मन्त्री अर्यालले पहिरो पीडित र विस्थापित परिवारको आवास निर्माणका लागि सरकारले व्यवस्था गर्ने पनि बताइन्।

आफ्नो माइती गाउँ वालिङ नगरपालिका-१४ तमादीमै पुगेर उनले १० लाख २० हजार राहत उपलब्ध गराइन्। जसमध्ये ७ लाख सरकारको तर्फबाट र ३ लाख मन्त्रालयको पहलमा उपलब्ध भएको हो। असोज ८ गते माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका-४ मा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई पनि राहत वितरण गरिन्। मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमाईको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार रुपैयाँ राहत प्रदान गरिन्।

यसैगरी पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिन्।

असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०/२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार रुपैयाँ राहत पनि मन्त्री अर्यालले प्रदान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्