जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छः मुख्यमन्त्री पोखरेल
रूकुम पूर्व। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्ने बताएका छन्।
प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको पाेखरेलले बताए।
मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रदेशलाई सम्पन्न बनाउनका लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए।
संघीयता कार्यान्वयनपछिको ७७औं जिल्लाको रूपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागिनसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे फैसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राखे।
उत्तरगंगा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उनले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए।
उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने मुख्यमन्त्री पाेखरेलेकाे भनाइ छ।
यसै क्रममा उनले पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलको समेत उद्घाटन गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्